भारतीय उपमहादिपमा शासन गरिरहेको तत्कालिन अंग्रेज सरकारसँग नेपालले गरेको सुगौली सन्धीले नेपालको सीमा निर्धारण गर्छ । सोही सन्धीको धारा पाँचले कालि नदिको मुहानको पूर्वतिरको भाग नेपालको रहेको उल्लेख गरेको विज्ञहरु बताउँछन् । जसको मुहान लिम्पियाधुरामा पर्छ र यसैलाई नै नेपालले महाकाली भनेर चिन्ने गर्छ । तर भारतले कृत्रिम महाकाली सिर्जना गरी केही भाग आफ्नोतिर पारेको दशकौं भैसकेको छ । त्यसैले यो विवाद नयाँ नभए पनि नेपालले आधिकारिक र सार्वजनिक रुपमा विरोध जनाएको भने पहिलोपल्ट हो । भारतस्थित नेपाली दूताले त्यहाँका विदेश सचिवलाइ भेटेर सचिवस्तरीय बैठकका लागि पहल गरेका छन् । त्यसबाहेक प्रधानमन्त्रीस्तरबाटै पनि वार्ता गर्न सरकार तत्पर रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बताएका छन् । तर जुनसुकै संयन्त्रमा भए पनि ती वार्ता र बैठकका लागि पर्याप्त तयारी गर्नुपर्ने विज्ञको भनाइ छ । लिम्पियाधुराबाट आउने ठूलो, लामो र सम्पन्न जलाधार भएको कुटी याङ्दी पनि भनिने काली नदीलाई आाफ्नोतिर पारेर भारतले लिपुलेकबाट आउने सानो खोलालाई भारतले सिमानाका रूपमा देखाएको छ। जसको सुरुवात सन् १८५० को दशकदेखि नै भएको अनुसन्धाताको दावी छ । इष्ट इण्डिया कम्पनी र चीनबाट प्रकाशित पुराना नक्साहरुमा पनि लिम्पियाधुरा नै महाकालीको मुहान रहेको देखिन्छ । यस्ता प्रमाणहरुले नै नेपाललाई भारतसामु बलियो बनाउँने भएकाले यथेष्ट प्रमाण जुटाएर छलफल गर्नुपरे भारतले पुनर्विचार गर्न सक्ने विज्ञको भनाइ छ ।
नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुरभन्दा तीन गुना बढी नेपाली भाग भारतीय अतिक्रमणमा परेको छ । विश्व मानचित्रमा यस भूभागभन्दा साना मुलुक नै झण्डै ४८ वटा छन् । विज्ञहरूका भनाइमा, बलियो सरकारले जनभावनासहित एकमत राख्न सक्यो भने त्यसले भारतलाई आफ्नो सोचमा परिवर्तन गर्न बाध्य पार्ने । र, अर्कोतिर नाकाबन्दी गरेर गुमाएको साख फर्काउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि यो अवसर हुनसक्छ ।
First aired on Kantipur TV