‘तीन लाख’ले गरे तिरुपति दर्शन
ज्ञान न्यौपानेकाठमाडौं, फागुन १३
सीतादेवी कोइराला (७१)ले शनिबार राजधानीको खुल्लामञ्चमै भारत आन्ध्रप्रदेशमा प्रख्यात भगवान् तिरुपति बालाजीको दर्शन गर्न पाइन् । तिरुपति दर्शन उनका लागि पहिलो होइन तर भारतमै दुईचोटि पुग्दाभन्दा स्वदेशमै राम्रोसँग दर्शन गर्न पाएको उनी बताउँछिन् ।
सीतादेवी कोइराला |
‘भारतमै पनि यसरी दर्शन गर्न पाइन्न,’ दंग पर्दै उनले भनिन्, ‘रकम तिरेर पनि कहिले दिन र कहिले रातको कुराइपछि दर्शन पाइन्छ, तै पनि हिँड्दाहिँड्दै नमस्कार गर्नुपर्ने ।’
५० को दशकमा भारतै पुगेर दर्शन गरेकी उनले सुरुमा काठमाडौंमै तिरुपतिको मूर्ति ल्याउने खबर पत्याएकी थिइनन् । ‘एक हप्ताअघि सुनेकी थिएँ, पत्यार लागेको थिएन,’ उनले भनिन्, तर दर्शनै गर्न पाइयो ।’
बिहानै भाइको कपनस्थित कोठाबाट हिँडेकी उनी भिडमा पनि उत्साहित हुँदै उभिएकी थिइन् । भारतकै पनि विभिन्न क्षेत्रमा घुमाइने उत्सव मूर्ति विशेष पूजाका दिन मन्दिर परिसरमा डोलीमा राखेर घुमाइने उनले बताइन् । तिरुपतिलाई अन्य भगवान जसरी फलपूmल, पैसा आदि नचढाइने सुनेकी उनले पनि खालिहात दर्शन गरिन् ।
बिहान ११ बजेदेखि दर्शन खुला गरिए पनि बिहानै पाँच बजेदेखि लाइन बसेको खुल्लामञ्चमा भेटिएकाहरूले बताए । खुल्लामञ्च शनिबार दिनभर भजनकीर्तन र तिरुपतिको जयजयकारले गुञ्जिएको थियो ।
तिरुपति बालाजीको मूर्ति भारतबाट चार दिनको बस यात्रामा शुक्रबार राति काठमाडौं ल्याइएको हो । पुजारी तथा सुरक्षाकर्मीसहित ६० जनाको टोली पनि आएको छ । काठमाडौं ल्याएर भाटभटेनीमा मूर्ति राखिएको थियो । त्यहाँबाट शोभायात्रासहित साढे १० बजे खुल्लामञ्च प्रवेश गराइएको थियो ।
शोभायात्रामा सहभागी लक्ष्मी चौलागाईले तिरुपतिप्रति सधैं आस्था रहेको र दर्शन पाउने उत्साहले अघिल्लै दिनदेखि निद्रा नलागेको बताइन् । उनीसँगै आमा, छोराछोरी र परिवारका अन्य सदस्य पनि तिरुपति दर्शन गर्न आएका थिए ।
‘भगवान् तिरुपतिको दर्शन गर्न पाउने भएपछि राति निद्रै लागेन, त्यसैले बिहानै भाटभटेनी पुगेर शोभायात्रामा सहभागी भयौं,’ उनले भनिन्, ‘एकपटक उनकै तीर्थस्थल पुग्ने इच्छा छ ।’
बाफलबाट आएका गणेशप्रसाद अधिकारीले सजिलै दर्शन गर्न पाएकोमा दंग देखिन्थे । ‘बेलाबेलामा देशका अन्य मन्दिरमा लाग्ने विशेष मेलामा भन्दा राम्रोसँग दर्शन गर्न पाइयो,’ उनले भगवान्सँग गरेको प्रार्थना सुनाएँ, ‘देशमा शान्ति, सुव्यवस्था कायम होस् भनेर मागें ।’
हातमा बत्ती, फलपूmल लिएर आएकी सिनामंगलकी बसन्ती पन्त भने तिरुपतिकै नाममा अन्य ठाउँमा बत्ती बाल्ने बताउँदैथिइन् । दर्शनार्थीलाई प्रसादका रूपमा लड्डु बाँडिएको थियो ।
शनिबारै दिउसो पाँज बजेपछि तिरुपति (भगवान विष्णु)को श्रीदेवी र भूदेवीसँग विवाह महोत्सव पनि सम्पन्न गरिएको थियो । जुन उनको मन्दिरमा दिनहुँ गरिन्छ । विवाहका बेला ३५ हजार दर्शनार्थी रहेको र दिनभरमा कुल तीन लाखभन्दा बढीले तिरुपतिको दर्शन गरेको आयोजक समितिका संयोजक राजेन्द्र अर्यालले जानकारी दिए ।
visit epaper, turn page four http://nagarikplus.nagariknews.com/component/flippingbook/book/876-nagarik-26-feb-2012/2-nagarik.html