असनमा आगलागि दमकललाई मुस्किल

ज्ञान न्यौपाने
काठमाडौं, फागुन १०
"आगलागीपछि भग्न असन"
पाँच वर्षदेखि अरुको घर जिम्मा लिएर बसेकी सुन्दरीजलकी निरु श्रेष्ठलाई मंगलबारको आगलागीले स्तब्ध तुल्यायो। काठमाडौं- २७ स्थित असन (पुरानो बस्ती) को पाँच तले पुरानो घरमा बिहान साढे सात बजे आगो लागेको थियो। छोरा घरमा छाडेर सडक छेउको चिया पसल हिँडेकी उनी आगलागी भएको सुनेपछि आत्तिदै फर्किन्। छोरो सकुशल पाएपछि मत्थर भइन्।
राजधानीकै अति अव्यवस्थित घर रहेको सो क्षेत्रको साँघुरोपनले आगो निभाउन समेत सास्ती दियो। आगो लागेको घरको दुबै भागमा जोडिएर रहेका घरमा भने आगो सर्न पाएन। घरबेटी चार दिन अघि अमेरिका गएको उनले बताइन्। 'छोरा घरमा पढ्न बसेको थियो, धन्न आगो लाग्नुअघि नै निस्केछ,' उनले भनिन्, 'ऊ फर्कदा आगलागी भइसकेको रहेछ।'
निरु श्रेष्ठ
सोही घरको भुइँतलास्थित पल्टन छे एण्ड बारमा विद्युत सर्ट भई आगो फैलेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। तर सर्ट कसरी भयो खुल्न नसकेको बताइएको छ। दस बजेपछि मात्र खुल्ने सो बारबाट सुरु आगलागीले आफू बस्ने गरेको माथिल्लो भागमा बढी क्षति पुगेको श्रेष्ठले सुनाइन्। पति र छोरासहित त्यहाँ बस्दै आएकी उनी छोरा र गाउँ
(सुन्दरीजल) बस्ने छोरी पढाउने सपना आगलागीसँगै खरानी भएको भन्दै भक्कानिइन्।
'कम्प्युटर, टिभी, दराज, हिरो होन्डा मोटरसाइकल, छोराको कापी किताब लगायत सर्वस्व नष्ट भयो,' उनले पीडा कहिन्, 'अब केही बाँकी छैन, छोरा भोलि कसरी कलेज जान्छ, थाहा छैन।'
आगलागी हुने बित्तिकै दमकल आए पनि साँघुरो बाटोमा काम थाल्न नसकेको निर्मल बताउँछन्। 'बत्ती निभाउन समेत सम्भव भएन,' उनले भने, 'हेर्दा हेर्दै एउटा कुकुर पनि जल्यो।' आगो दिउँसो दुई बजे मात्र आगो पूर्ण नियन्त्रणमा आएको नियन्त्रणकर्मीले बताए।
खबर आएको तीन मिनेटमै आगलागी स्थलमा पुगेको बताउने जुद्ध बारुण काठमाडौंले नियन्त्रण गर्न सात दमकल प्रयोग गरेको जानकारी दियो। 'हामीले दुई सय मिटर परबाट पाइप तानेर पानी हान्नुपर्‍यो। पहिलो दमकल पुगेको पाँच/पाँच मिनेटमा भर्‍याङसहित थप तीन दमकल मगायौं,' बारुणयन्त्र काठमाडौंका अग्निनियन्त्रक तथा सशस्त्र प्रहरीका सहायक निरीक्षक रुपक अधिकारीले भने, 'त्यसले पनि नपुगेर भक्तपुरबाट एक, नेपाल प्रहरीको एक र नेपाली सेनाको थप एक दमकको प्रयोग गर्नुपरेको थियो।'
आगलागी भएको पल्टनघर पुग्न दुई सय मिटर पूर्व रहेको सिद्दिदास मार्गमा रोकेका दमकलले भुइँबाटै माथिसम्म आगो नियन्त्रण गरेको थियो। दमकलस्थलबाट सानो बाटो हुँदै एक चोक कटिसकेपछि अर्को चोकमै यो घटना भएको हो। प्रहरीका अनुसार यसप्रकारका घटनामा सानो आगो भए पनि धेरै समय लाग्ने गर्छ।
दमकलले तत्काल पानी दिन ५० निजी तथा सरकारी ट्याङ्कर र तीन दर्जन भन्दा बढी जनशक्तिको प्रयोग भएको उनले जानकारी दिए। घर अग्लो, पुरानो, काठको, पुराना सामान लगायत ज्वलनशील वस्तु भएकाले निभाउन ढिलाई भएको उनले बताए। 'घर खुला ठाउँमा भएको भए यत्तिका क्षति हुन पाउँथेन,' अधिकारीले भने, 'हामीले भर्‍याङ प्रयोग गरेर माथि माथि भेटेको भए यति क्षति हुँदैथ्यो।'
आगलागीपछि बन्द बजार दिउँसो दुई बजे मात्रै खुलेको पसले गणेशराज गिरीले जानकारी दिए। नियन्त्रणका लागि सडकमा दमकल तथा ट्याङ्करको घुइँचो रहेको उनले बताए। 'प्रहरी तथा नियन्त्रकको अथक प्रयासले मात्र रोकियो,' उनले भने, 'करिब पाँच वर्षअघि यस्तै आगो लागेको थियो।
बारमा नगद तथा विभिन्न सरसामान समेत गरी २५ लाख बराबरको धनमाल जली क्षति भएको र घर पुरै जली क्षति भई १ करोड बराबरको अनुमानित धनमाल नष्ट भएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ।

*

Post a Comment (0)
Previous Post Next Post