काठमाडौं
नेपाल र श्रीलंकाबीच दुइटा समानता छ । यी दुवै लामो द्वन्द्वबाट गुज्रिएर आएका देश हुन् र दुवैमा बौद्ध धर्मप्रति अगाध आस्था छ । त्यही भएर ‘द्वन्द्व, शान्ति र विकास’ विषय अध्ययन गर्न छ महिनाअघि काठमाडौं आएका सातजना श्रीलंकन विद्यार्थी यहाँको अनुभवलाई ‘निकै उपयोगी’ ठानिरहेका छन् ।
यहाँ श्रीलंकामा जस्तै द्वन्द्वको घाउ त छँदैछ, सँगसँगै शान्तितर्फ बढेको कदम र विकास बहस पनि अनुभव गर्न पाएको भाग्या जयवर्देना बताउँछिन् । यी सबैभन्दा महŒवपूर्ण, गौतम बुद्धको जन्मस्थल नेपालमा बौद्ध धर्म र यससँग जोडिएका परम्परा र रीतिरिवाजको गहिरो अवलोकन गर्ने अवसर उनलाई जुरेको छ ।
बहुसंख्यक बौद्ध धर्मावलम्बी भएको श्रीलंकामा जन्मेकी भाग्या, २५, ले तोतेबोली बोल्दैदेखि गौतम बुद्धबारे सुन्न थालेकी हुन् । बुद्धले दिएका ज्ञान र उपदेशको उनी कदर गर्छिन् । ‘श्रीलंकामा सामाजिक कार्यमा स्नातक गरिसकेपछि द्वन्द्व, शान्ति र विकास पढ्ने निधो गरेँ र नेपाल आएँ,’ भाग्याले भनिन् ।
तीन दशक लामो तमिल युुद्ध अनुभव गरेकी उनले विश्वको सर्वोच्च शिखर सगरमाथा र गौतम बुद्धको जन्मभूमिका रूपमा नेपालको नाम सुनेदेखि यहाँ आउने चाहना पालेकी थिइन् । दक्षिण एसियाको समुद्री टापुमा बसेर हिमाली देश नेपालसम्बन्धी जानकारी इन्टरनेटमा बटुल्न थालिन् । नेपालका तस्बिरहरू देखेपछि उनी झन्झन् लोभिँदै गइन् । र, नेपालमै पढ्ने अवसर पाएपछि दायाँबायाँ केही नसोची आइहालिन् । ‘मलाई ठिक निर्णय गरेछु भन्ने लागेको छ,’ उनले भनिन् ।
श्रीलंकाको इस्टर्न रुहुना विश्वविद्यालय, नर्वेको युनिभर्सिटी अफ लाइफ साइन्स र नेपालको त्रिभुवन विश्वविद्यालय मिलेर सन् २००७ देखि द्वन्द्व, शान्ति र विकास अध्ययन विभाग सुरु गरी यो विषयमा अध्यापन सुरु गरिएको हो ।
आफ्नो देशको तीन दशक लामो जातीय युद्ध समाप्तीपछि श्रीलंकनहरूको सपनामा ठूलो परिवर्तन आएको छ । देशको भावी विकासमा आफ्नो पनि केही सहयोग होस् भन्ने चाहना त्यहाँका युवा पुस्ताले संगाल्न थालेका छन् । यही सन्दर्भमा द्वन्द्व, शान्ति र विकास विषय अध्ययन गर्न थालेको तिलाक्षी पद्माश्री बताउँछिन् । ‘यसको निम्ति नेपाल गतिलो राष्ट्र हो भन्ने मलाई लागेको छ,’ उनले भनिन् ।
श्रीलंकन विद्यार्थी भन्छन्– देश युद्धबाट शान्तितिर धकेलिनु आफैंमा राज्यको अमूल्य प्रगति भए पनि यसलाई सार्थक उपलब्धिमा बदल्न देखिने खालका विकास निर्माणका कामहरू हुनैपर्छ
दक्षिण एसियाली परिवेशमा द्वन्द्वलाई नजिकबाट अध्ययन गरिरहेका यी विद्यार्थीले नेपालको दसवर्षे ‘जनयुद्ध’ले पारेको प्रभाव र त्यसपछिको अवस्थाबारे बुझ्नेछन् । देशमा युद्ध समाप्तीपछि श्रीलंकाले हासिल गरेको उपलब्धिलाई नेपालले पूरा नगरेको उनीहरूको टिप्पणी छ । देश युद्धबाट शान्तितिर धकेलिनु आफैंमा राज्यको अमूल्य प्रगति भए पनि यसलाई सार्थक उपलब्धिमा बदल्न देखिने खालका विकास निर्माणका काम हुनैपर्ने उनीहरू बताउँछन् । ‘तबमात्र जनताको आकांक्षा पूरा हुन्छ,’ उनीहरू भन्छन्, ‘नत्र शान्ति त हुन्छ, आस रहन्न ।’
काठमाडौंको शान्तिनगरस्थित फ्ल्याटमा बसेका यी विद्यार्थीले नेपालको राजनीतिक अस्थिरता पनि बुझिसकेका छन् । द्वन्द्वपछिको पुनर्निर्माणमा यस्तो अस्थिरता घातक हुने उनीहरूको बुझाइ छ । ‘यसमा जनताको सजग भूमिकाले ठूलो योगदान गर्नसक्छ,’ टोलीकै तिलाक्षी पदमाश्रीले भनिन् ।
अध्ययन विभागका प्रमुख हेम सुवेदीका अनुसार नेपालमा सातजना श्रीलंकन विद्यार्थी त्रिविको छात्रवृत्तिमा र सातजना नेपाली विद्यार्थी श्रीलंकन विश्वविद्यालयको छात्रवृत्तिमा त्यहाँ अध्ययरत छन् । नेपालमा ५० जना विद्यार्थीले यो विषय अध्ययन गरिरहेका छन् । ‘दुवै देश द्वन्द्वबाट गुज्रिएर आएकाले विद्यार्थीहरूलाई युद्धबारे जान्नबुझ्न सजिलो भएको छ,’ उनले भने ।
यी विद्यार्थीले पढाइका अतिरिक्त नेपाल अनुभव पनि संगालिरहेका छन् । एक महिनाअघि अध्ययनकै क्रममा चितवनको सौराहा, लुम्बिनी र पोखरा घुमेर फर्केका उनीहरू ‘अझै नअघाएको’ बताउँछन् । ‘साप्ताहिक विदामा धुलिखेल, चिसापानी, पाटन र भक्तपुर घुम्ने गरेका छौं,’ भाग्याले भनिन्, ‘काठमाडौंभन्दा बाहिरी क्षेत्र हरियाली, सुन्दर र सफा रहेछ ।’
सामान्यतया ३० डिग्री हाराहारीको गर्मी खेपिरहेका यी श्रीलंकन विद्यार्थीलाई यतिखेर काठमाडौंको जाडो खप्न भने हम्मे परेको छ । लोडसेडिङले पनि उत्तिकै दिग्दारी थपेको छ । ‘यति जाडो त कहिल्यै अनुभव गरेकी थिइनँ, चिसोले रगतै जम्लाजस्तो, पकाएर खान पनि गाह्रो,’ तिलाक्षीले सुनाइन् ।
उनीहरूले यसअघि बुद्ध जन्मेको देश र सर्वोच्च शिखर सगरमाथाको देशका रूपमा मात्रै नेपाललाई चिनेका थिए । यहाँ आएपछि काठमाडौंको संस्कृति, रहनसहन र परम्पराले पनि तानेको बताउँछन् । सँगसँगै यहाँको फोहोर र लोडसेडिङलाई ‘दुर्भाग्य’ भन्छन् ।
सुरुका दिनमा काठमाडौंमा आफ्नो देशको परिकार खान नपाउँदा उनीहरूलाई न्यास्रो लागेको थियो रे । अहिले भने यहाँको ममः, पकौडा र आलु परौठामा उनीहरूको मन बस्न थालिसकेको छ । नेपालका चाडपर्व पनि निकै रमाइलो मानेका छन्, उनीहरूले । ‘नेपाल आउनासाथ तीज मनाउन पायौं, रातो साडीमा महिलाहरू देखेर सुरुमा त अचम्मै लाग्यो,’ चाडप्रतिको आश्चर्य व्यक्त गर्दै श्रीलंकन युवती तिलाक्षीले भनिन् । तीजपछि दसैं, तिहारजस्ता राष्ट्रिय चाडसँग पनि नजिकिन पाएकोमा उनीहरूले नौलो अनुभव गरेका छन् ।
![]() |
log on to see ::::: http://nagarikplus.nagariknews.com/component/flippingbook/book/845-nagarik-28-jan-2012/2-nagarik.html |
कलेज परिसरमा श्रीलंकन विद्यार्थीहरू ।