ज्ञान न्यौपाने
काठमाडौं, माघ १३
श्रद्धा श्रेष्ठ, १७, ले काकाको पुस्तकपसलमै झमक घिमिरेको 'जीवन काँडा कि फूल' झिकेर पढेकी थिइन्। कस्तरी प्रभाव पार्यो भने उनले कलेजको पुस्तकालयमा त्यो किताब किनेरै राख्न लगाइन्। मदन पुरस्कार विजेता तिनै लेखिका बिहीबार आफूजस्ता कलेजका थुपै्र विद्यार्थीसँग अनुभव साटासाट गर्न आउँदा श्रद्धामा खुसीको सीमा थिएन।
खुट्टाले लेख्नुबाहेक चस्मा माथि सार्न, कागज खुम्च्याउन, फलफूल खान र पानीको गिलास समात्न पनि खुट्टै प्रयोग गरेको विद्यार्थी चकित परेर हेरिरहन्थे। ठूलो समूहमा रहेका उनीहरू त्यतिबेला मौन देखिन्थे। यसरी उनले करिब तीन घन्टा विद्यार्थीमाझ बिताइन्। अन्त्यमा विद्यार्थीको हुलले एकैपटक बढाएका थुप्रै कागजमा छिटोछिटो हस्ताक्षर गरेपछि झमक बिदा भएकी थिइन्।
पुस्तकमा 'मैले खानका लागि पनि परिश्रम गर्नुपर्यो' भन्ने लाइनले श्रद्धालाई सबैभन्दा बढी छोएको थियो। 'जीवन यति कष्टकर पनि हुँदोरहेछ भन्ने मैले पहिलोपटक थाहा पाएँ,' नागरिकसँग श्रद्धाले भनिन्, 'त्यो किताब पढेयता दुई महिनादेखि मलाई उनीसँग प्रत्यक्ष भेटघाट गर्न छटपटी भइरहेको थियो।' त्यसको बन्दोबस्त आफ्नै कलेजले गरिदिएको पाँच दिन अघिमात्र उनले जानकारी पाएकी थिइन्।
सफल लेखिका र संघर्षमय जीवनकी उदाहरणीय पात्र झमकलाई स्कुल तथा कलेजका विद्यार्थीमाझ लगेर अन्तर्क्रिया गराउने योजना हालै झमककुमारी प्रतिष्ठानले ल्याएको हो। पहिलो मौका नयाँ बानेश्वरस्थित कोलम्बस कलेजले छोपिहाल्यो।
बिहीबार कलेजमा झमककुमारीलाई बोकेको गाडी देख्नेबित्तिकै सबैका आँखा तानिए। आमा आशादेवीले लर्याकलुरुक परेकी छोरीलाई गाडीबाट बोकेर भुइँमा राख्न खोज्दा श्रद्धाका आँखा रसाए। उता बस्न खोज्दै गरेकी झमकले जब अडिएर सामुन्ने हेरिन्, सहभागी सबैले तालीले स्वागत गरे। त्यसपछि उनले विद्यार्थीका लागि खुट्टैले लेखेर तयार पारेको तीन पृष्ठको सन्देश सुनाइयो। सन्देशमा झमकले सोधेकी थिइन्, 'भविष्यमा के बन्छौ?' कसैले डाक्टर भने, कसैले इन्जिनियर त, कसैले राष्ट्रसेवक।
'भाइबहिनीले जे भने पनि मैले यसअघि धेरैजसोलाई सोध्दा उनीहरुले एकछिन चुप लाग्ने र त्यसपछि खोइ के बन्ने के भन्ने जवाफ दिने गरेका थिए,' उनले लेखेरै भनिन्, 'योजनाबिनाको जिन्दगीको अर्थहीन हुन्छ।'
'हामी सक्षम हुनु देशको भविष्य राम्रो हुनु हो' उनले खुट्टाले लेखेका हरफ फेरि पढेर सुनाइयो।
कलेजमा अध्ययनरत सुशील तिमिल्सिनाले झमकलाई साहित्यमा प्रवेश गरेपछि जीवनमा कस्तो परिवर्तन आयो भनेर जिज्ञासा राखे। खुट्टाका औंलाले कालो कलम समात्दै उनले लेखिन्, 'व्यक्तिगत जीवनको पाटो बिस्तारै सकिएको छ।' उत्तर सुनाइनसक्दै तालीको पर्रा छुट्यो।
अर्का एक विद्यार्थीले सफल बन्न के गर्ने भन्ने जिज्ञासा राखे। 'ठूलो बन्न चाहने तर असल हुन नचाहने प्रवृत्ति बढ्दो छ,' झमककुमारीको जवाफे, 'जब कि असल हुन सके मान्छेलाई यसले नै ठूलो बनाउँछ।'
खुट्टाले लेख्नुबाहेक चस्मा माथि सार्न, कागज खुम्च्याउन, फलफूल खान र पानीको गिलास समात्न पनि खुट्टै प्रयोग गरेको विद्यार्थी चकित परेर हेरिरहन्थे। ठूलो समूहमा रहेका उनीहरू त्यतिबेला मौन देखिन्थे। यसरी उनले करिब तीन घन्टा विद्यार्थीमाझ बिताइन्। अन्त्यमा विद्यार्थीको हुलले एकैपटक बढाएका थुप्रै कागजमा छिटोछिटो हस्ताक्षर गरेपछि झमक बिदा भएकी थिइन्।
'मैले त हेर्दाहेर्दै समय सकिएछ,' कार्यक्रम सकिएपछि श्रद्धा भनिरहेकी थिइन्, 'केही सोध्नै पाइनँ।' आफ्नो पुस्ताले देखेको प्रेरणादायी महिलाको सम्मान गर्नुपर्ने श्रद्धाले सुनाइन्। भनिन्, 'मान्छेले जस्तोसुकै अवस्थामा पनि जीवनलाई सकारात्मक र परोपकारी बनाउनुपर्छ।' उनले झमकबाट सिकेको अर्काे वाक्य थपिन्, 'इच्छाको अगाडि कष्टकर जीवन पनि बाधक बन्दैन रहेछ।'