
काठमाडौं, पुस २२
सिराहा गोविन्दपुर- २ स्थित खपटेडाँडामा दुई हजार वर्ष पुराना माटाका भाँडाका अवशेष पाइएका छन्। दैनिक प्रयोग हुने गाग्रा, भिउँट र आरीजस्ता माटाका भाँडाको जस्ता देखिने खबटाबारे विस्तृत अन्वेषण हुन बाँकी रहेको अवलोकनमा संलग्न पुरातत्त्वविदले शुक्रबार जनाएका हुन्।
एक साताअघि उक्त क्षेत्रमा भएको अन्वेषणका क्रममा खबटा, मोति र पत्थर भेटिएको अवलोकनकर्ताले बताए। लहानबाट नौ किमि उत्तरको करिब चार बिघा क्षेत्रफलमा भेटिएका अवशेष भारतको बनारसबाट ल्याइएको हुन सक्ने पुरातत्त्वविद शुक्रसागर श्रेष्ठले बताए। फुस्रो रङ (ग्रे वेयर) र काला चिल्ला (ब्ल्याक वेयर) माटाका भाँडा इशापूर्व ६ सय वर्षदेखिका हुन सक्ने उनले बताए।
'खबटाहरू इशापूर्व छ सय वर्षदेखि नै त्यस क्षेत्रमा रहेको भन्ने पाएका छौं,' उनले भने, 'भेटिएका भाँडा अहिलेका कुमालेहरूले बनाउनेभन्दा फरक छन्।'
आधुनिक युगमा प्रचलनमा नरहेका ती भाँडाको अन्वेषण बाँकी रहेको उनले जानकारी दिए।
चिहान रहेको उक्त क्षेत्रमा पत्थर र सुनका टुक्रा पनि फेला परेको पुरातत्तवका अधिकृत रामबहादुर कुँवरले बताए।
'कालो पालिस भएका भाडा छ सय इशापूर्वका र फुस्रो पालिस भएका भाँडा अझै पुराना भएको अनुमान छ,' कुँवरले भने, 'झन्डै सात हजार वर्ष पुरानो नवपाषण संस्कृतिबारे ती भाँडाबाट जानकारी मिल्न सक्नेछ।'
उक्त क्षेत्रको चाँडै उत्खनन हुनुपर्ने कुँवरले बताए। 'सो क्षेत्रको चाँडै नै उत्खनन हुनु जरुरी छ,' अवलोकनपछि कुँवरले भने, 'उत्खनन भए त्यहाँको सांस्कृतिक परम्परा, इतिहाससाथै लुम्बिनी तथा रामग्रामको इतिहाससँग दाजेर धेरै कुरा थाहा हुन सक्छ।'
धेरैजसो भागमा स्थानीयले खेती गरिरहेकाले छिट्टै संरक्षणको काम हुनुपर्ने उनले बताए।
छ वर्ष अघि पहिचान गरिएको सो क्षेत्रमा अहिलेसम्म उत्खनन हुन सकेको छैन। सरकारले यस वर्ष खपटेडाँडाको विकासका लागि २० लाख वजेट छुट्ट्याएको छ। सो रकमले प्रथम चरणको अध्ययन सकिएको विभागले जनाएको छ।
फोटो फिचर // स्रोत : पुरातत्व विभाग
![]() |
माटाको भाडाको टुक्रा |
![]() |
खपटे डाडा |
![]() |
खपटे डाडा |
![]() |
खपटे डाडा |
![]() |
खपटे डाडा |
![]() |
खपटे डाडा |
![]() |
स्थानीयसंग रहेका सिक्का र पथ्थर |
![]() |
स्थानीयसंग रहेका मोतिका दाना , सिक्का र पथ्थर |
![]() |
माटाको भाडाको टुक्रा |
![]() |
माटाको भाडाको टुक्रा |
![]() |
माटाको भाडाको टुक्रा |