पाला बनाउनेहरूको चिन्ता

ज्ञान न्यौपाने
भक्तपुर, कत्तिक ८ 
तिहार भित्रिइसकेका बेला भक्तपुर पोटर स्क्वाएरका कुमालेहरू मंगलबार माटो खेलाउन व्यस्त देखिन्थ्ये। तर काम गर्दागर्दै भएको लोडसेडिङले गर्दा उनीहरूले केही फुर्सद पाएका थिए।
To see online please log on----- http://nagariknews.com/exclusive-news-page/32571-2011-10-26-08-09-17.htmlदिउँसोको लोडसेडिङपछि कोही चुरोटको धुवा उडाउँदै विद्युत् प्राधिकरणलाई गोली गर्न थाले। कोही भने माटो मुछिरहेका थिए। उनीहरू तिहारमा बढी बिक्री हुने दियो र धुपौरो तयार पार्न खटिइरहेका थिए।

लोडसेडिङ मात्रै होइन, कुमालेहरूको समस्या दिन प्रतिदिन बढ्दै गएको छ। उनीहरूका अनुसार माटोका भाडाको उत्पादन, बिक्री वितरणदेखि लिएर आधुनिकीकरणको चुनौती पनि थपिएको छ। जसले गर्दा पेसै लोप हुने हो कि भन्ने उनीहरूको चिन्ता छ।

घुमाएर माटोको भाडा बनाइने पाङ्ग्राको ठाउँ अहिले विद्युतीय पाङ्ग्राले लिन थालेको छ। यसकारण लोडसेडिङले उनीहरूलाई चिन्ता थप्छ।

'अहिले हाम्रो परम्परागत चलन त हराउँदै गएको छ,' स्थानीय कृष्णसुन्दर प्रजापति भन्छन्, 'आधुनिकीकरणलाई अवलम्बन गर्दा पनि टिक्न गाह्रो छ।'

परम्परागत चलनसँगै प्लास्टिकको प्रयोगले गर्दा माटाका भाँडा संकट परेको उनको अनुभव छ। 'माटोको समस्या हुनु, बजार पाउन गाह्रो हुनु र प्रतिस्पर्धामा आउन नसक्नु लोप हुनुको मूल कारण हो,' उनी भन्छन्, 'यसका लागि प्लास्टिकको प्रयोग हटाउनुपर्छ।'

उनका अनुसार पुर्खादेखि चल्दै आएको यो पेसालाई उनले पनि २० वर्षदेखि आम्दानीको स्रोत बनाएका छन्। 'तर अब यसमा निर्भर हुने अवस्था छैन,' उनले भने। कृष्णसुन्दरले दुई छोरालाई इन्जिनियरिङ र एक छोरीलाई नर्सिङ पढाएका छन्।

'छोराले खाली समयमा मात्र सहयोग गर्छ, मैले उनीहरूलाई यसमै निर्भर हुन भनेको छैन,' उनी जोडछन्।
केही युवाहरू बिहान-बेलुकी क्याम्पस नगएको बेला काम गर्दै गरेको देखिए। 'म बिहानै क्याम्पस जान्छु र खाली रहेको समयमा भाडा बनाउँछु,' बिबिएस अध्ययन गरिरहेका रुन्जन प्रजापति (२१) भन्छन्, 'खासै धेरै माग हुँदैन, सिजनको बेलाबाहेक किन सधैं लागिरहनू?'

धेरै परिश्रम गरेर कम आम्दानी हुने क्षेत्र भएको र सधैं यसकै ध्याउन्नमा नलाग्ने उनी बताउँछन्। 'म जस्ता खाली समय यसमा लगाउनेबाहेक अन्य युवा यो पेसा छाडेर विदेशिएका छन्,' उनी भन्छन्।
बाजेको पालादेखि परिवारले यो पेसा अँगालेको बताउने ६० वर्षे विष्णुप्राद प्रजापति माटो अभाव र प्लास्टिकका भाडाको कारण पेसा जोखिममा परेको बताउँछन्।

'हामीले कुमालेको हकहितका लागि एउटा समिति गठन गर्‍यौं, तर यसले पनि अहिलेसम्म केही गर्न सकेको छैन,' उनी भन्छन्, 'हामीलाई काम गर्ने एउटा उचित स्थलको पनि कमी छ।' ललितपुरको हरिसिद्धि र चार किलोमिटर पर सिपाडोलबाट माटो ल्याउनुपर्ने अवस्था रहेको उनी बताउँछन्।

'पहिले खाली ठाउँबाट माटो ल्याउन पाउथ्यौं, तर अहिले जग्गाको कारोबार बढ्दै जाँदा जहातहींबाट ल्याउन पाइँदैन,' उनी भन्छन्, 'यसबाट माटाका भाडाको मूल्य बढेको छ। त्यसैले मानिस धेरै समय दिन चाहँदैनन्।'

*

Post a Comment (0)
Previous Post Next Post