गरिब घटे

ज्ञान न्यौपाने
काठमाडौं, कात्तिक ४
रेमिट्यान्स आम्दानी बढ्दा बितेका छ वर्षमा नेपालको गरिबी दर पाँच प्रतिशत घटेको छ। २०६०/६१ मा ३०.८५ जनता गरिब रहेकामा अहिले २५.१६ मात्र छन्।
यहाँ क्लिक गरेर पत्रिका हेर्नुस http://nagarikplus.nagariknews.com/component/flippingbook/book/732-nagarik-21-october-2011/2-nagarik.html
२०६६/६७ मा केन्द्रीय तथ्यांक विभागले गरेको 'तेस्रो जीवनस्तर सर्वेक्षण' ले यस्तो देखाएको हो। सर्वेक्षण प्रतिवेदन बुधबार सार्वजनिक गरिएको छ।


प्रतिवेदन अनुसार महिला घरमूली भएको परिवारको गरिबी तुलनात्मक घटेको छ। कृषिको ज्यालादारीमा लागेका परिवारमूली अन्य ज्यालादारीका परिवारको तुलनामा गरिब छन्। परिवारको आकार बढी भएका क्षेत्रमा गरिबी दर पनि वृद्धि भएको छ।

१५ वर्षदेखि लगातार गरिँदै आइएको सर्वेक्षणको पहिलो वर्ष विसं २०५२/५३ मा गरिबी दर ४१.७६ थियो। पछिल्लो सर्वेक्षणले सहरमा १५.४६ र गाउँमा २७.४३ प्रतिशत गरिब रहेको पनि देखाएको छ। ग्रामीण क्षेत्रमा गरिबी क्रमश घटेको छ। सहरमा गरिब बढेका छन्।

रेमिट्यान्स कमाउने घरपरिवार बढेको सर्वेक्षणले देखाएको छ। यसअघि ३१.९ प्रतिशत परिवारको रेमिट्यान्स आम्दानी थियो भने अहिले यो आम्दानी पाउने परिवार ५५.८ छन्। प्रतिव्यक्ति रेमिट्यान्स पनि वृद्धि भई २१ सय बाट ११ हजार ७३ पुगेको छ।

'मूल रुपमा कृषि र गैरकृषिमा ज्याला वृद्धि र रेमिट्यान्स पाउने परिवारमा भएको वृद्धिले पनि गरिबी घटेको हो,' अध्ययनमा संलग्न विभागका अधिकारी ढुण्डिराज लामिछानेले भने, 'जसले ८० हजारको सालाखालामा रकम पाएका छन्।'

खाद्य वस्तुको समूह (खाद्य डालो) मा अहिले परिवर्तन गरिएकामा प्राविधिक हिसाबले अघिल्लोसँग दाँज्न नमिल्ने विज्ञ बताउँछन्। विभागका अनुसार अक्सर नेपालीले खाने खाद्य समूहलाई प्रयोग गरिएकाले अहिलेका प्रत्येक तथ्यांकलाई अघिल्लोसँग दाँज्न मिल्दैन।

'यसअघि भएका दुई सर्वेक्षणमा प्रयोग गरिएका खाद्य वस्तु अहिलेभन्दा फरक छन्,' विभागका प्रवक्ता एवं उपमहानिर्देशक विकास विष्टले भने, 'विश्व बैंकको मापन स्तरअनुसार गर्न फरक पारियो।' उनका अनुसार देशको जनसंख्याको संरचनाको परिवर्तनले क्यालरी बदलिएकाले यस्तो भएको हो। सर्वेक्षण विश्व बैंकको प्राविधिक तथा आर्थिक सहयोगमा सम्पन्न भएको हो।
नेपालमा गरिबी दर
२०५२/५३ ४१.७६
२०६०/६१ ३०.६१
२०६७/६८ २५.१६ (नयाँ खाद्य क्यालोरी अनुसार)

*

Post a Comment (0)
Previous Post Next Post