ज्ञान न्यौपाने
काठमाडौं, असोज ३
भूकम्पीय जोखिमयुक्त काठमाडौंमा आगलागी हुँदा आकस्मिक सेवा पुर्याउने दमकलको गतिलो व्यवस्था छैन।
![]() |
ललितपुर वारुण यन्त्रमा बिग्रिएर थन्किएका दमकल। तस्बिर : ज्ञान न्यौपाने |
अहिले काठमाडौं वारुणयन्त्रले नै उपत्यकाका प्रायः सबै ठाउँ भ्याइरहेको कार्यालय प्रमुख लीलाराज गछामगरले बताए। 'एक त पर्याप्त दमकल छैनन्, अर्कातिर सानासाना गल्ली र अग्ला भवनमा पुग्नै गाह्रो छ,' उनले नागरिकसँग भने।
चालु अवस्थाका चार दमकलमध्ये तीनटा ट्यांकरयुक्त हुन्। यिनमा छ तल्लासम्मको घरमा मात्र सेवा दिने क्षमता छ। अर्काेसँग एउटा भर्याङ छ, त्यो पनि ११ तलासम्म उद्धार गर्न सकिने, जबकि राजधानीमा त्योभन्दा दोब्बर अग्ला भवन बन्ने क्रम सुरु भइसक्यो। करिब ५० लाख अनुमान गरिएको काठमाडौंको जनसंख्यालाई दुर्घटनाबाट जोगाउन भनी राखिएका यी ४ दमकलै तन्दुरुस्त छैनन्।
आपतविपतमा आगो निभाउनमात्रै होइन, इनारभित्र फसेकालाई पनि वारुणयन्त्र कार्यालय आवश्यक हुने गछामगर बताउँछन्। 'त्यस्ता ठाउँमा बेलैमा पुग्न नसक्नु पनि हाम्रा लागि ठूलो चुनौती हो,' उनले भने, 'आइतबारै भूकम्पपछि कतै आगलागी भएको भए मान्छेको भीडभाडले हामीलाई जान गाह्रो पर्थ्यो।'
७६ वर्षअघि स्थापित काठमाडौं जुद्धवारुण यन्त्रले उपत्यकामात्रै नभएर बाहिर पनि सेवा दिनुपर्ने बाध्यता छ भन्छन् गछामगर। उपत्यकाबाहिर आसपासका सहरमा दमकल सेवा छैन।
काठमाडौंमा राणा प्रधानमन्त्री जुद्धशमशेर पालाका तीन, ललितपुरमा तीन र भक्तपुरमा दुई दमकल थन्किएका छन्। ललितपुरमा २०३३ सालमा जर्मन सरकारबाट प्राप्त तीनवटा पनि काम नलाग्ने भइसकेका छन्। सरकार आफैंले नयाँ त किन्दैन नै, तिनलाई मर्मत गरेर चलाउने जाँगर पनि गरेको छैन।
दमकलै नभएपछि कर्मचारीको के काम? ललितपुर जुद्ध वारुणयन्त्र कार्यालयका १४ कर्मचारीको हात खाली हुनुपरेको कारण पर्याप्त दमकल नहुनु नै हो।
'पटकपटक मर्मत गर्दै बनाएको एउटा दमकल पनि वैशाख ५ गतेदेखि थन्किएको छ,' ललितपुर वारुण प्रशासनका नारायण व्यञ्जनकार भन्छन्। उनका अनुसार नयाँ दमकलका लागि टाटा मोटर्सको नेपाली डिलर सिप्रदी ट्रेडिङसँग ३६ लाख भारतीय रुपैयाँको कोटेसन लिएर ललितपुर उपमहानगरपालिकालाई दिएको फाइल तीन महिनादेखि थन्किएको छ। दमकल किन्न नगरपालिकाले सुरसारै गरेको छैन।
झक्तपुरमा पनि वारुणयन्त्र छ भन्नै लाजमर्दो हुने बताउँछन् त्यहाँका कार्यालय प्रमुख कृष्णभक्त श्रेष्ठ। एम्बुलेन्स हेरफेर गरी दमकल बनाएर काम चलाइएको उनले बताए।
'२०६० मा यहाँको सिद्धि स्मृति अस्पतालबाट प्राप्त जर्मन गाडीलाई दमकल बनाएर चलाएका छौं,' श्रेष्ठले भने।
भक्तपुर वारुणको तालुकवाला मन्त्रालय गृह हो। सुरक्षा हेर्ने जिम्मेवारी बोकेको यो मन्त्रालयका अधिकारीलाई अतिसंवेदनशील दमकल व्यवस्थाबारे वास्तै छैन। 'गृहले नहेरेपछि टुहुरोजस्तै भा'छौं,' श्रेष्ठले भने।
करिब तीन वर्षअघि देशभरका दमकल कार्यालय स्थानीय मन्त्रालय मातहत सारे पनि भक्तपुर अहिलेसम्म गृहकै जिम्मामा छ।
स्थानीय मन्त्रालयका उपसचिव विनोदप्रकाश सिंहका अनुसार पछिल्ला वर्ष मातहतका निकायबाट ६७ दमकलको माग आइसकेको छ। तर, सरकार कुन दाताले देला र पाइएला भनेरै पर्खिरहेको छ। भारतबाट एक वर्षअघि १७ वटा दमकल सहयोग गर्ने बचन आएपछि त झन् सरकार त्यही दान ढुकिरहेको छ। काठमाडौं वारुणयन्त्र कार्यालयलाई पनि इटालीले विभिन्न क्षमताका पाँच दमकल दिने छ महिनाअघि सम्झौता गरेको छ। ती पनि कहिले आउने हुन् टुंगो छैन।
सरकारको जगेडा कोषबाट ९० र आफ्नो १० प्रतिशतबाट स्थानीय निकायले दमकल किन्न सक्ने उपसचिव सिंह बताउँछन्। उनका अनुसार उपत्यकाबाहिरका तीन नगरपालिकाले यही उपायबाट लिने तयारी गरिसकेका छन्।