POLITICS

सदाचार सूचकमा तीन अंक सुधार भए पनि नेपाल भ्रष्टाचार व्यापक रहेको मुलुकको श्रेणीमै

ट्रान्सपरेन्सी इन्टरनेस्नलले बिहीबार सार्वजनिक गरेको विश्वका १ सय ८० देशको भ्रष्टाचार सूचकांकमा नेपाल ३४ अंकसहित १ सय १३ औं स्थानमा छ । गत वर्षको तुलनामा ११ औं स्थान माथि उक्लिए पनि भ्रष्टाचार घट्यो भन्ने अवस्थाचाहिँ छैन । ट्रान्सपरेन्सीले सार्वजनिक पदको दुरुपयोग तथा भ्रष्टाचारमा कारवाही, कर असुली सम्बन्धी निर्णय लगायत कारण माथि उक्लिए पनि राजनीतिक क्षेत्र गम्भीर नरहेकाले भ्रष्टाचार व्याप्त रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । त्यति मात्र होइन, पैसाले राजनीतिलाई प्रभावित गरेको र राजनीतिक तह नै भ्रष्ट भइदिँदा नीतिगत भ्रष्टाचार मौलाएको देखाएको छ । यसअघि अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले पनि संसदीय समितिको एउटा बैठकमा खर्चिलो निर्वाचन प्रणालीले भ्रष्टाचार बढाएको बताएका थिए ।  भ्रष्टाचारको मूल राजनीति नै रहेको उनको संकेत थियो । पैसा नहुनेले टिकट नै नपाउने, निर्वाचन खर्च उठाउन ठेकेदार र व्यापारीसँग मिलेमतो गर्नेदेखि अन्य अनैतिक काम गर्ने परिपाटी राजनीतिक तहमा व्याप्त छ । 

नेताहरूले व्यापारीसँगको अपारदर्शी सम्बन्धका आधारमा नीति, नियम र निर्णय गर्ने परिपाटी छर्लंगै देखिन थालेको छ । स्वार्थ समूहले नेतामाथि लगानी गरेर हुर्काउने र नेता शक्तिमा पुगेपछि तिनैको स्वार्थमा काम गर्ने प्रवृत्तिले लोकतन्त्रलाइ नै जोखिममा पार्न सक्ने चेतावनी अध्ययनहरूले दिएका छन् ।

अझ राजनीतिक तहबाट हुने भ्रष्टाचारलाई छानबिनको दायरामै ल्याउन नसकिने गरी कानुन ल्याउने र अख्तियारको क्षेत्राधिकार संकुचित गर्ने प्रयासले पनि सदाचारप्रति नेतृत्वको प्रतिबद्धतालाइ कमजोर सावित गर्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *